राष्ट्रियसभा बैठकमा एमाले सांसदहरुको चर्को नाराबाजी, अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

सोमबार बसेको बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बिरोध गरेका थिए । बैठकमा एमालेका सांसद देवेन्द्र दाहालले आफूहरुको मागका विषयमा अझै पनि सुनुवाई नहुनु दुखद भएको बताए । प्रतिनिधिसभाका यसअघिका आफ्ना सांसदहरुलाई कारबाही गर्नका लागि उठाएका विषय यथावत नै रहेकाले संसद चल्न नसक्ने उनको भनाइ छ । यसअघि भ्रष्टाचार भयो भन्नेहरु अहिले बोल्न नसकेको भन्दै एमाले नेतृत्वको सरकारलाई भ्रष्टाचारको मिथ्या आरोप लगाएको पुष्टि भएको उनको तर्क छ । दाहालले सत्तापक्षले प्रतिपक्षीसँग वार्ता गर्न नचाहेको बताए ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि आग्रह गरेका थिए । देशको बारेमा, विकासको बारेमा, समग्र राष्ट्रको अर्थतन्त्रको बारेमा छलफल गर्न उनले आग्रह गर्दा पनि नमानेपछि अध्यक्ष तिमिल्सिनाले कार्यसूचीमा रहेका विषयलाई हटाइ अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगीत गरे ।

माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नसकेको भन्दै एमालेले संघीय संसदको दुवै सदनमा निरन्तर अवरोध गर्दै आएको छ ।