प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री देउवाले आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र शिक्षा हुन नहुने भन्दै सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने बताए ।
दीक्षित विद्यार्थीले सचेत र शिष्ट नागरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्ने उनको विश्वास छ । देउवाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन, मुलुकको अर्थतन्त्रलाई तीब्र रुपमा रुपान्तरण गर्न दक्ष प्राविधिक जनशक्ति उत्पादन हुनुपर्ने धारणा राखे । प्रतिस्पर्धी विश्व शैक्षिक बजारलाई मध्यनजर गर्दै विश्वविद्यालयले समयानुकुल आफूलाई परिमार्जन गर्दै लैजानुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा विश्वविद्यालयबाट विभिन्न संकायका परीक्षाहरुमा सर्वोत्कृष्ट अंक प्राप्त गरी सर्वप्रथम हुने उत्कृष्ट २१ विद्यार्थीलाई २९ विधामा पदक एवम् पुरस्कार वितरण गरिएको छ भने दिक्षित विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।