नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४ सय सतासी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १ सय ६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ ।
कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइनुका साथै मतदाताका लागि स्यानिटाइजरको व्यवस्था समेत गरिएको छ । मतदाताको सङ्ख्या बढी भएकाले मतदानमा सहजताका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको थियो । महाधिवेशनस्थलको राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।
त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७ सय ४३ रहेको छ ।