नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवाको विकल्प नभएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा निवास बुढानिकण्ठमा बुधबार बसेको सो पक्षको बैठकले अहिले नै पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकलाई नै देउवाको नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको हो । बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति देउवाको विभिन्न विचारधारा भएका दलहरुलाई जोड्न सक्ने गुण भएकाले पार्टीको सभापतिमा देउवा नै रहनुपर्ने बताए । उनले पदाधिकारी र केन्द्रीय सदस्यका विषयमा भने आकांक्षा राख्नेहरुसँग परामर्श गरेर निष्कर्षमा पुग्ने दाबी गरे । पदाधिकारीका बारेमा पार्टी सभापतिले नै निर्णय लिने उनले बताए ।
त्यस्तै कांग्रेस नेता बालकृष्ण खाँणले देउवालाई नै पार्टी सभापतिको रुपमा अघि बढाउन सहमति भएको जानकारी दिए । उनले महाधिवेशनपछि पदाधिकारी थप गर्ने विषयमा छलफल भएको बताए ।
कांग्रेसको संस्थापन पक्षभित्र सभापतिमा देउवाको नाममा एकमत रहेपनि महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महत लगायतले दावी गर्दै आएका छन् । बैठकले पदाधिकारीका बिषयमा भने टुङ्गो लगाउन सकेको छैन ।