अझै टुंगो लागेन बार विवाद, आन्दोलन मत्थर भएको भनेर नसोच्न सर्वोच्च बार अध्यक्षको चेतावनी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि प्रदर्शन गरेको छ ।

कालो ब्यानर बोकेर विरोधको संकेत गर्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा आइबार पनि धर्ना दिएका हुन् । कार्यक्रममा बोल्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले आन्दोलनको उद्देश्य प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताए । उनले आफूहरुको आन्दोलन उत्कर्षमा लैजान बाँकी रहेकाले आन्दोलन मत्थर भएको भनेर नसोच्न चेतावनी समेत दिए ।

प्रधानन्यायाधीश जबरा व्यवहारिक रुपमा सर्वोच्चको प्रधानन्यायाधीश पदमा नरहेकाले अब उनले इजलास पनि तोक्न नपाउने र उनले तोकेको बेन्चमा कसैले पनि बहस नगर्ने अध्यक्ष शाक्यले बताए । उनले प्रधानन्यायाधीश जबराको उपस्थितिमा न्याय परिषद्, न्याय सेवा आयोग र संवैधानिक परिषदको बैठक पनि नबस्ने भएकाले प्रधानन्यायाधीशले राजीनामा नदिएर सर्वोच्च अदालत र जनताको मुद्दालाई अस्तव्यस्त बनाउने काम गरेको आरोप लगाए ।

त्यस्तै अध्यक्ष शाक्यले राजनीतिक दलहरुले संसदबाट महाअभियोग लगाएर हटाउने सम्भावना भएपछि मात्र विरोध कार्यक्रम अन्त्य गर्ने भनिएपनि त्यो सम्भावना नदेखिएपछि आफूहरुले विरोध प्रदर्शन जारी राखेको जानकारी दिए । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा प्रदर्शन गर्दै आइरहेका छन् ।