मजदुरका समस्या समाधान गर्ने मन्त्री किसान श्रेष्ठको प्रतिबद्धता, भन्छन्, “परिवर्तन ल्याउन मन्त्री बनेको हुँ”

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले मजदुरका समस्या समाधान गर्न कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।

शनिबार काठमाडौं मोर्डन स्कूल अलुमनाईले गरेको कार्यक्रममा सफाई मजदुरहरुलाई ट्रयाक वितरण गर्दै मन्त्री श्रेष्ठले मजदुरका समस्या समाधन गर्न आफ्नो मन्त्रालय तयार रहेको बताएका हुन् । आफू सामान्य किसानको छोरो भए पनि जनताले मन्त्रालयमा पठाएको बताउँदै काम गर्ने मान्छेलाई जनताले साथ दिने उनले बताए ।

मन्त्री श्रेष्ठले आफू केही परिवर्तन गर्न मन्त्री बनेको उल्लेख गर्दै परिवर्तनका केही संकेत देखापरिसकेको बताए । श्रम विभागमा नियमित अनुगमन गर्ने देखि वैदेशिक रोजगारीका लागि जानलागेका श्रमिकलाई ठगिनबाट बचाएर आफूले सक्दो प्रयास गरेको उनले जानकारी दिए । कार्यक्रममा सरसफाई मजदुरहरुलाई २१ वटा संघसंस्थाद्वारा ट्रयाक सुट वितरण गरिएको थियो ।