प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन पूरै समय रहने बताएका छन् ।
संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर बिहीवार स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले विमानस्थलमा संचारकर्मीसँगै कुरा गर्दै गठबन्धनमा कुनै समस्या नरहेको र पूरै समय चल्ने बताएका हुन् । प्रधानमन्त्री देउवाले कोप सम्मेलनका दौरानमा छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकका नेताहरुसँग महत्वपूर्ण विषयमा छलफल भएको जानकारी दिए । भारतमा समेत युरिया मल अभाव रहेका बेला पनि नेपाललाई भारतले मल दिएर सहयोग गरेकोप्रति धन्यवाद दिएको उनले बताए ।
सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि नेपालको सम्बन्धका बारेमा संक्षिप्त कुराकानी भएको प्रधानमन्त्री देउवाले जानकारी दिए । जलवायु परिवर्तनको जोखिमको बढी असर नेपालमा परेको र बाढी, पहिरोजन्य विपद्का घटना बढेकोप्रति ध्यानाकर्षण गराउँदा अन्य मुलुकले चासो लिएको उनले बताए । त्यस्तै उनले समकक्षी भारतीय प्रधानमन्त्रीसँग नेपाल भ्रमणबारे कुराकानी भएको जानकारी दिए । प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी)का उपकार्यकारी प्रमुखसँग भएको भेटघाटका क्रममा नेपाल एमसिसीको पक्षमा रहेको र आवश्यक प्रक्रिया पूरा गरेर यसलाई चाँडै टुङ्गो लगाउने भन्ने विषयमा कुराकानी भएको जानकारी पनि दिए ।
प्रधानमन्त्री देउवा कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वदेश फर्किएका हुन् ।