गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो लगायतका प्रकोपपछिको उद्धार लगायतका कार्यमा सुरक्षा निकायबाहेक अन्य सरोकारवाला निकायको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
गृह मन्त्रालयको आयोजनामा मंगलवार ललितपुरमा गरिएको विपद् व्यवस्थापनसम्बन्धी नीतिगत परामर्श बैठकमा गृहमन्त्री खाँणले प्राकृतिक प्रकोप न्यूनीकरण र प्रकोपपछिको उद्धार लगायतका व्यवस्थापनका कार्यमा सुरक्षा निकाय बाहेकका निकायको भूमिका सन्तोषजनक नरहेको बताएका हुन् ।
विपद्को उद्धार लगायतका काममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले छिटो भन्दा छिटो जुट्ने गरेको तर अन्य निकायहरुले भने ढिलासुस्ती गर्ने गरेको उनको भनाइ छ । उनले विपद्पछि तत्काल राज्यको उपस्थिति नै जनताको अपेक्षा हुने गरेको भन्दै पूर्वाधार निर्माणमा सम्बन्धित निकायबीच समन्वय हुनुपर्ने धारणा पनि राखे ।
उनले प्राकृतिक विपद्बाट क्षति हुने क्षेत्रमा तयारी अवस्थामा प्राविधिक राख्न पनि समस्या हुने गरेको जिकिर गरे ।