माओवादीबाट धोका हुँदैन : कांग्रेस नेता शाही

कर्णाली प्रदेशको मुख्यमन्त्रीका दावेदार नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताएका छन् ।

गत वैशाख २ गते अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र तत्कालीन एमाले नेता प्रकाश ज्वालाबीच लिखित सम्झौता भएका कारण उनले कात्तिक १५ पछि आफू मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गरेका हुन्। केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली कांग्रेसले नपाउने भन्ने चर्चा भइरहेका बेला शाहीले माओवादीबाट धोका नहुने विश्वास व्यक्त गरेका छन् ।

नेता शाहीले मुख्यमन्त्रीसँग भेटघाट भइरहेको र यस विषयमा सकारात्मक परिणाम आउने जनाएका छन् ।

गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसको सहयोग लिएका थिए । विश्वासको मत लिँदै गर्दा उनले कांग्रेससँग आलोपालो सरकार सञ्चालन गर्नेबारे लिखित सम्झौतासमेत भएको थियो ।