न्युयोर्क,
विश्वको सर्वोच्च शिखर सगरमाथा माथि प्रथम पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा मनाईदै आएको अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई यस वर्ष देखि न्युयोर्कको राजधानी आल्बानीमा समेत मनाईने भएको छ ।
न्युयोर्क राज्य बिधान सभा जिल्ला ३८ की संसद जेनिफर राजकुमारले शनिबार आयोजित बिशेष समारोहमा उक्त निर्णय घोषणा गरेकी हुन । सो अवसरमा अमेरिकामा रहेका साठी जना आरोही हरुलाई सम्मानपत्र र यु एस नेपाल क्लाइम्बर्स् एसोसिएशनका स्वयंसेवक हरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
हिम आरोही शेर्पाहरुको अदम्य साहस, त्याग र ईमान्दारिताको सम्मान गर्दै न्युयोर्क राज्यको राजधानी आल्बानीमा सगरमाथा दिवस मनाउन लागिएको प्रमुख वक्ता जेनिफर राजकुमारले बताईन् । नेपाली महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले सगरमाथा दिवसलाई न्युयोर्कमा मान्यता दिएकोमा नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष देखि सगरमाथा दिवस मनाउन न्युयोर्क स्टेट् एसेम्ब्ली सँग सहकार्य गर्ने प्रतिबद्धता जनाए । यु एस नेपाल क्लाइम्बर्स् एसोसिएशनका अध्यक्ष पासाङ् निमा शेर्पाले हिमआरोहीहरुका लागि गरिएको यो सम्मान प्रति आफु अत्यन्त आभारी रहेको बताए ।
कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि अमेरिकाका स्वास्थ्य राजदूत डा. सिमा क्यारेट्नया, क्वीन्स् बोरो उपसभापति रोन्डा विन्डा, शेर्पा किदुगका अध्यक्ष छिरिङ् शेर्पा, जि पि के फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, क्वीन्स् कम्युनिटी बोर्ड सदस्य उर्गेन शेर्पा, आदिबासी जनजाति महासंघका संघीय सभामुख राजकुमार बिष्ट, रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर नबराज केसी, सामाजिक अभियन्ता तथा एडवान् नेपालका संस्थापक बिष्णुमाया परियार, विश्व कीर्तिमानी अमेरिकी भेनेसा ओब्रायन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल सरकारले प्रथम सगरमाथामा आरोही तेन्जिगं नोर्गे शर्पा र सर एडमन्ड हिलरीको सम्मानमा मेई २९ लाई अन्तरराष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउदै आएको छ । यस दिवसलाई विश्वका विभिन्न देशका पर्वतारोहीहरुले मनाउदै आई रहेका थिए । विगतका वर्षहरुमा न्युयोर्कमा पनि यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनले न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावास, शेर्पा किदुंग जस्ता संस्थाहरु सँग सहकार्य गरी सगरमाथा दिवस मनाउँदै आईरहेको कुरा युएस नेपाल क्लाइम्बर्स् एसोसिएशनका महासचिब मिङ्मार लामाले बताए ।
मीस् नेपाल नर्थ अमेरिका विजेता गरिमा ज्ञवालीद्वारा संचालित कार्यक्रममा विविध नेपाली सँस्कृति कार्यक्रमहरुका साथमा स्वर्गीय तेन्जिंग नोर्गे शेर्पा र एडमन्ड हिलारीका सुपुत्रद्वय पिटर हिलारी र नोर्बु तेन्जिङ् शेर्पाका भिडिओ सन्देश तथा हिमारोहण संबन्धित श्रब्य दृश्यहरु प्रदर्शन गरिएका थिए ।
Community न्युयोर्क राज्य सरकारले मे २९ लाइ सगरमाथा दिवस घोषणा गर्ने, ६० जना...