न्यूयोर्क,
गोर्खा समाज मेरिल्याण्डको आयोजनामा नेपाली चेलिको महान चाड हरितालिका तिजको अवसरमा तिज सेलिब्रेसन तथा दरखाने कार्यक्रम भब्यतापुर्वक सम्पन्न भयो । सोमबार बाल्टिमोरको इन्डिया गार्डन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा लोकप्रिय कलाकारहरुको दोहोरिले थप रौनक थपेको थियो ।
मेरिल्याण्डमा बसोबास गर्ने गोर्खालीहरुलाइ एकताबद्ध गर्दै मातृभूमीको सुखदुखमा हातेमालो गर्ने उदेश्यले स्थापना भएको गोर्खा समाज मेरिल्याण्डले बिदेशमा नेपाली कलासंस्कृतिको प्रवर्धन गर्न तिज, दशैं, तिहार जस्ता परम्परागत चाडपर्बलाइ भव्यताका साथ मनाउन बिशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । “हामी नेपाली जहाँ गएपनि आफ्नो मौलिक पहिचान र संस्कार छोड्न सक्दैनौ, यो हामीलाइ प्यारो छ” गोर्खा समाज मेरिल्याण्डका संयोजक गणेश लामीछानेले भने । उनले समाजले नेपाल र अमेरिकामा रहेका गोर्खालीको हितमा यथाशक्य योगदान दिने बताए ।
लोकप्रिय कलाकार सिर्जना बिरही थापा, राजन ठकुरी र अन्य स्थानिय कलाकारको दोहोरिमा सहभागीहरु मध्यरातसम्म नाचेका थिए । “स्वदेश या बिदेश हामीले लोकसंकृतिलाइ जिबित राख्नु पर्छ” गायिका सिर्जना बिरही थापाले भनिन् । नेपाली लोकगायनमा ठुलो ख्याति कमाएकी थापाले अमेरिका आए पश्चात पनि गायनलाइ निरन्तरता दिइरहेकी छिन् ।
कार्यक्रममा प्रमुख अतिथि बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)का अध्यक्ष सुबोध पन्तले तिज जस्तो मौलिक पर्वलाइ अमेरिकामा पनि जिवित राख्ने प्रयास गरेकोमा गोर्खा समाजको प्रशंसा गरेका थिए । “हाम्रो संस्कृति नै हाम्रो पहिचान हो यसलाइ जिवित राख्न सके नयाँपुस्तालाइ नेपालसंग जोडिरहन सहयोग पुग्छ” पन्तले भने । कार्यक्रममा मेरिल्याड, न्यूयोर्क, भर्जीनिया र न्यूजर्सीका करिब २०० दिदिबहिनीहरुले लोकप्रिय तिजका गितहरुमा नाचेर रमाइलो गरेका थिए । “तिजको रहर आयो बरिलै” जस्तो कालजयी गितदेखी “चरि जालैमा” सम्मको नयाँ हिट गितहरु घन्किएको थियो । “ म नेपालकै कुनै कुनामा छु जस्तो लागीरहेछ” मेरिल्याण्डका स्टेट डेलिगेट् ह्यारि भण्डारिले भने । कार्यक्रममा एनआरएनए आइसिसि अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी, राप्रपा नेपालका महामन्त्रि प्रेम श्रेष्ठ, गोर्खा समाज अमेरिकाका अध्यक्ष खाम भट्ट, बानाका पुर्वअध्यक्षहरु कुल आचार्य र अनु वन्तले गोर्खा समाज मेरिल्याण्डलाइ शुभकामना दिएका थिए ।
कार्यक्रमको फोटो हेर्नको लागी यहाँ क्लिक गर्नुहोलाः
Community गोर्खा समाज मेरिल्याण्डको तिज कार्यक्रम भव्यतापुर्वक सम्पन्न