काठमाडौं, १६ भदौ
३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । नर्भिक अस्पतालले एक विज्ञप्ति जारी गर्दै निशाको बुधबार साँझ ६:५१ बजे मृत्यु भएको जानकारी दिएको हो । अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र अस्पतालले गरेका सबै प्रयासका बाबजुद पनि मोडल घिमिरेलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । उनको निधनप्रति अस्पतालले दुःख व्यक्त गरेको छ ।
भारतमा दुर्घटना परी घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला २०७८ जेठ २७ गते उद्धार गरेर नर्भिक अस्पतालले निःशुल्क उपचार गरिरहेको थियो । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो । निशाको शरीरमा रहेका घाउहरूमा समेत कुनै सुधार आएको थिएन ।