काठमाडौं, १२ भदौ
सरकार गठनको लामो समयसम्म पनि मन्त्रीपरिषद विस्तार हुन नसकेपछि सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ ।
सरकारमा सहभागि हुने दलहरुको संख्या बढ्दै जाँदा प्रधानमन्त्री देउवालाई मन्त्री परिषद विस्तारमा समस्या परेको केहीले बताउने गरेका छन् ।
सरकारमा सहभागि हुने दलहरुबीच सरकारमा कसलाई कति मन्त्री दिने भन्ने बारे अहिलेसम्म छलफल भएको छैन । तर सरकारमा सहभागि हुने दलहरुभित्र पनि मन्त्री पदका आकाँक्षीहरु धेरै हुँदा दलहरुलाई पनि मन्त्री कसलाई बनाउने भन्ने बारेमा टुंगो लाग्न सकेको छैन । यस बारेमा दलका शिर्ष नेताहरुले आफुहरुलाई मन्त्री छनौटमा समस्या परेका बताउने गरेका छन् । मन्त्री पाउँदा समर्थन गर्ने र नगर्दा असन्तुष्टि व्यक्त गर्ने परिपाटीको विकास भएको भन्दै नेताहरुले राजनीतिक संस्कार सुधार हुन नसकेको बताउँदै आएका छन् ।
लामो समयसम्म मन्त्री परिषद विसतार नहुँदा सरकारको कामकाजमा केही ढिलाई भएको छ । मन्त्रालयमा मन्त्री नहूँदा कर्मचारीहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै गुनासो समेत आउन थालकेो छ । यि सबै विषयलाई सम्बोधन गर्ने तयारीका साथ प्रधानमन्त्रीले छलफललाई अगाडि बढाउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यसै अनुरुप शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डबीच भेट भएको बताईएको छ । शनिवार भएको भेटघाटमा सरकारलाई चाँडो पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ । प्रचण्डको सचिवालयले देउवा र प्रचण्डबीचको भेटमा सरकारलाई चाँडै पूर्णता दिने विषयमा छलफल भएको जानकारी दिएको छ ।
सत्ता गठबन्धनमा सहभागी मध्येको एक तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले नयाँ दल दर्ता गरेपछि नेताहरु सरकारलाई पूर्णता दिन सक्रिय बनेका छन् ।
गठबन्धनबाट देउवा प्रधानमन्त्री बनेको करिब डेढ महिना पुग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिले देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट प्रधानमन्त्रीसहित चार जना तथा माओवादी केन्द्रबाट दुई जना मन्त्री बनेका छन् । दाहालले यसअघि नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता भएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।