रेशम चौधरीलाई रिहाई गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छः बाबुराम भट्टराई

धनगढी, ११ भदौ

जनता समाजवादी पार्टी ९जसपा० नेपाल संघीय अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरी आफ्ने पार्टीमा रहेको दाबी गरेका छन् । कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित संघीय सांसद चौधरी महन्थ ठाकुरले गठन गरेको लोकतान्त्रिक समाजवादी पार्टीमा गएको भनेर अफवाह फैलाइएको बाबुरामको भनाई थियो । ‘लोसपामा गएका सांसदको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ,’ जसपा सुदूरपश्चिम प्रदेशले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भने, ‘आयोगले सार्वजनिक गरेको सूचीमा रेशमको नाम छैन, उनी जसपामै छन् ।

’ रेशम र आफ्नो लगातार संवाद भइरहेको बताउँदै उनले संवादका क्रममा पनि रेशमले जसपामै रहेको बताउने गरेको दाबी गरे । भट्टराईले कैलालीको टीकापुरमा भएको घटना नितान्त राजनीतिक भएको भन्दै त्यसलाई राजनीतिक रुपमै समाधान गरिनुपर्ने बताए ।

रेशमको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको बताउँदै उनले जसपाकै पहलमा रेशमको रिहाई हुने बताए । ‘जसपाले नै रेशम चौधरीको रिहाई गर्न पहल गर्नेछ,’ उनले भने, ‘टीकापुर घटनालाई राजनीतिक रुपमा नै समाधान गर्न पनि हाम्रै पार्टीले पहल गर्नेछ ।’ एमालेले झापामा बन्दुक उठाएको र कांग्रेसले हवाइजहाज कब्जा गर्दा राजनीतिक रुपमा मिलाइएको भन्दै उनले अधिकारका लागि गरिएका आन्दोलनलाई विद्रोह भन्न नमिल्ने तर्क गरे । उनले जसपा संघदेखि प्रदेशसम्म सरकारमा सहभागी हुने बताए । संघीय सरकारमा छिट्टै सहभागी हुने बताएका उनले सुदूरपश्चिम प्रदेशमा पनि जसपा सरकारमा जाने उल्लेख गरे । ‘केही प्रदेशमा जसपा सरकारमा सहभागी भइसकेको छ,’ उनले भने, ‘अन्य प्रदेशमा पनि हामी सहभागी हुनेछौं । त्यसको सदुपयोग गरी पार्टीलाई बलियो बनाउनु पर्दछ ।’सरकारको नेतृत्व गरेका देउवाबाट धेरै आशा गर्न नसकिने उनको भनाइ छ । ‘देउवाको मुख्य दायित्व चुनाव गराउने हो,’ उनले भने, ‘त्यसबाहेक सरकारले केही गर्न सक्दैन, गलत गर्न हामीले दिने छैनौं ।’