मैत्रीपूर्ण फुटबल : हेड टु हेडमा यस्तो छ नेपाल भर्सेस भारत

काठमाडौं, ९ भदौ

नेपाल राष्ट्रिय फुटबल टोली र भारतीय राष्ट्रिय फुटबल टोलीबिच भदौ तेस्रो साता दुई मैत्रीपूर्ण खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अल इण्डियन फुटबल फेडेरेसन (एआईएफएफ) ले मैत्रीपूर्ण दुई खेलको लागि प्रस्ताव गरेको थियो । नेपालले स्विकार गरेसँगै १७ र २० भदौमा दशरथ रंगशालामा खेल हुने तय भएको छ । मैत्रीपूर्ण खेलका लागि यतिबेला दुबै टोली तयारीमा ब्यस्त छन् । नेपाली टोली हाल पोखरा रंगशालामा दुई साताको प्रशिक्षणमा छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले भारतसँगको मैत्रीपूर्ण खेलको लागि २५ सदस्यीय टोली घोषणा गरेका छन् । उनले विगतका स्ट्राइकर भरत खवास, अभिषेक रिजाल र डिफेण्डर रन्जित धिमाललाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् । अब्दुल्लाहले घोषणा गरेको टोलीमा राजन गुरुङ र नितिन थापाले पहिलो पटक स्थान बनाउँदा सुजल श्रेष्ठले पुनरागमन गरेका छन् ।

यता, भारत पनि नेपालसँगको खेलअघि प्रशिक्षणमा ब्यस्त छ । उसले कोलकतामा १५ दिनसम्म प्रशिक्षण गर्ने जनाएको छ । मुख्य प्रशिक्षक इगोर स्टिम्याकले २३ खेलाडीलाई प्रशिक्षणमा राखेका छन् । १० खेलाडी भने एएफसी कप खेल्न माल्दिभ्सको मालेमा छन् । बंगरुलु एफसी र एटिके मोहन बंगान यतिबेला एएफसी कप खेलिरहेका छन् । दुई क्लबका खेलाडी प्रशिक्षणमा सामेल भएपछि इगोरले टोली नेपाल ल्याउने छन् । ५ वर्षपछि नेपालसँग खेल्न लागेको भारतीय टोलीले एएफसी कप खेलेका कप्तान सुनिल क्षेत्रीसहित केही खेलाडीलाई आराम दिने तयारी गरेको छ । हालसम्म नेपाल र भारतबिच १९ पटक भेट भएको छ । जसमा भारतले आफ्नो दबदबा कायम गरेको छ । हालसम्म भारतले १३ खेल जित्दा नेपालले २ खेलमात्रै जितेको छ । ४ खेलमा बराबरी भएको छ । भारतले ३३ गोल गर्दा नेपालले ९ गोल मात्रै गरेको छ । नेपाल र भारतले पहिलोपटक सन् १९८५ डिसेम्बर २० मा एक अर्काविरुद्ध खेलेका थिए । जुन खेल गोलविहीन थियो । त्यसको भोलिपल्ट पुनः भिड्दा भारतले खेल २–० गोल अन्तरले आफ्नो पक्षमा पारेको थियो । दुई टोलीले अन्तिम पटक सन् २०१७ को जुन ६ मा भिडेका थिए । भारतको मुम्बई फुटबल एरिनामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको थियो । भारतका खेलाडी सन्देश झिन्गान र जे जे लाल पेख्लुयाले नेपालविरुद्ध गोल गरेका थिए । नेपालले अन्तिम पटक घरेलु मैदानमा भारतसँग सन् २०१५ मार्च १७ मा खेलेको थियो । फिफा विश्वकप छनोटको लागि भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । नेपाल र भारतबिचको खेलमा सर्वाधिक गोलकर्ता भारतीय टोलीका कप्तान सुनिल क्षेत्री रहेका छन् । उनले ८ खेल खेल्दै ५ गोल गरेका छन् । यस्तै आइएम विजयन र कार्लटन चापम्यानले समान ३ गोल गरेका छन् ।