काठमाण्डौ, भदौ ५
गैरआवासीय नेपाली संघले संसारभर रहेका गैर आवासीय नेपालीहरुलाई नागरिकता प्रदान गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा सिंहदरवारमा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंग भेट गरी संसारभर रहेका विभिन्न पेशा व्यवसाय गर्ने गैर आवासीय नेपालीहरुलाई नागरिकता प्रदान गर्ने वातावरण बनाउन अनुरोध गर्नुभएको हो । भेटमा मन्त्री कार्कीसहित राष्ट्रिय र प्रतिनिधि सभाका सदस्यहरुको पनि उपस्थिति रहेको थियो । भेटमा संघका तर्फबाट अध्यक्ष कुमार पन्तले दुई वर्षदेखि संसदमा विचाराधीन नागरिता विधेयकलाई छिट्टै संसदबाट पारित गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । यसपटक पनि विधेयक पास नगरी संसद अन्त्य भएपछि थप ढिलाई भएको भन्दै अध्यक्ष पन्तले नागरिकता विधेयक संसदमै अड्किदा गैरआवासीय नेपाली ऐन संशोधनमा समेत प्रभाव परेको बताउनुभयो । अध्यक्ष पन्तले नेपाल सरकारको सहभागिता सहित गैरआवासीय नेपालीले १० अर्बको लगानी नेपाल ल्याउन सुरु गरिसकेको जानकारी समेत दिनुभयो ।
गैर आवासीय संघका नागरिकता निरन्तरता सम्बन्धि श्रोत व्यक्ति सरोज दाहालले यसबीचमा भएका प्रगति र देखापरेका समस्याहरुबारे मन्त्री, सांसद र संघका अन्य पदाधिकारीहरुलाई जानकारी गराउनुभएको थियो । बैठकमा एन.आर.एन डेभलप्पमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनल राज भट्टराईले गैरआवासीय नेपालीहरुको लगानीलाई प्रोत्साहन गर्दै लगानीका लागि देखापरेका समस्याहरु छिट्टै सम्बोधन भएमा ५० अर्बसम्मको लगानी हुन सक्ने जानकारी गराउनुभयो । उँहाले यसका लागि आवश्यक नीतिगत सुधारमा सहजिकरण गरिदिन मन्त्री कार्कीसंग अनुरोध गर्नुभयो ।
यसै अवसरमा मन्त्री कार्कीले नागकिता विधेयकमा गैरआवासीय नेपालीको विषयमा कुनै समस्या नरहेको बताउनुभयो । उँहाले मिल्न बाँकी असहमतिलाई टुंग्याएर छिट्टै विधेयक पास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री कार्कीले विद्येयकमा सरकार सदैव विदेशमा रहेका नेपालीप्रति उदार रहेको उल्लेख गर्नुभयो । संविधानमा व्यवस्था भए बमोजिम र आवश्यक परे नीतिगत सुधार गरेर भएपनि गैरआवासीय नेपालीका माग सम्बोधन गर्न आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै छलफलमा उपस्थित सम्पूर्ण वक्ताहरुले गैरआवासीय नेपालीको नागरिकता सम्बन्धमा साझा समझदारी बनीसकेपनि अन्य केही विषयमा बिमती भएकोले विद्येयक पास गर्न ढिलाई भएको बताएका थिए । छलफलमा महान्यायधिवक्ता खम्म बहादुर खातीले गैरआवासीय नेपालीहरुले नेपालका लागि गरेको योगदान सम्झेर पनि सरकारले उदारता देखाउनुपर्ने र असहमतिबीचको सहमति खोज्नुपर्ने बताउनुभयो ।
यस्तै कानून न्याय तथा मानव अधिकार समितिका सदस्य लक्ष्मणलाल कर्णले नागरिकता विधेयकमा सहमति भइसकेका विषयमा राज्यले उदार नीति लिएर विदेशमा रहेका नेपालीको माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो । यस्तै राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीले विदेशमा रहेका नेपालीका विषयमा राज्यले खुला नीति अवलम्बन गर्न नसके ब्रेन ड्रेन मात्रै नभई उनीहरुको नाममा नेपालमा भएका सम्पत्ति पनि विदेशिने खतरा बढेको तर्फ सचेत गराउनुभयो । यस्तै काँग्रेसकी नेतृ पुष्पा भूषालले नेपालीलाई नेपाली भनेर चिनाउन कञ्जस्याँई गर्न नहुने उल्लेख गर्नुभयो । यस्तै पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री उमाशंकर अरगरिया राष्ट्रिय सभा सदस्य दिनानाथ शर्मा, शेखर कुमार सिंह, जनता समाजवादीकी सांसद प्रमिला कुमारी, माओवादी नेता देव गुरुङ लगायतले पनि गैरआवासीय नेपालीलाई अधिकार सम्पन्न बनाउन एवं नागरिकता सम्बन्धी विषयमा कुनै कठिनाई भए सरकारले खुला नीति लिन आग्रह गरेका थिए ।
छलफल कार्यक्रममा गैरआवासीय नेपाली नागरिकता निरन्तरता कार्यदलका सभापति एवं उपाध्यक्ष, सोनाम लामा अर्का उपाध्यक्ष रविना थापा, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार कुल आचार्य र टि.बी कार्की, एनसिसि बहराईनका पूर्व अध्यक्ष श्याम तामाङ, सचिवालयका कार्यकारी निर्देशक राजेश राणा लगायतको उपस्थिति रहेको थियो ।