एनआरएनए अध्यक्ष र प्रधानमन्त्रीबीच भेटवार्ताः यी विषयमा भयो छलफल

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त नेतृत्वको समूहले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । संसदमा विचाराधीन गैरआवासीय नेपाली मुद्दाका बारेमा छलफल गर्नका निमित्त आज अध्यक्ष पन्त सहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग भेट गरेको हो ।

छलफलका दौरान लामो समयदेखि संसद्मा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा अध्यक्ष पन्तले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेका छन् ।
त्यस्तै, कोभिड– १९ का कारण उत्पन्न विषम परिस्थितिमा विदेशमा रहेका नेपाली श्रमिकको उद्धार, नेपाल ल्याइएका श्रमिकको पुनःस्थापनालगायतका विषयमा तत्काल नेपाल सरकारले राहतमुखी कार्यक्रम ल्याउनु पर्नेमा पनि जोड दिइएको बताइएको छ ।

अर्कातिर, संघका पूर्वअध्यक्ष जीवा लामिछानेले भने प्रधानमन्त्रीलाई बेलायतमा रहेका ब्रिटिस गोर्खाको सत्याग्रहका विषयमा ध्यानाकर्षण गराउँदै उक्त समस्या समाधानका लागि बेलायत सरकारसँग यथाशीघ्र कूटनीतिक पहल गर्न आग्रह गरेका थिए ।
संघले राखेका जिज्ञासा र आग्रहमाथि सकारात्मक प्रतिक्रिया दिँदै प्रतिउत्तरमा प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भएबमोजिम गैरआवासीय नेपाली नागरिकतालगायतका विषयमा छिट्टै निर्णय लिइने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।