गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको समूहले काठमाडौंमा ‘एनआरएनए कन्क्लेभ २०२५’ कार्यक्रमको आयोजना गर्न लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गर्ने ‘एनआरएनए कन्क्लेभ २०२५’ को उद्घाटन गर्ने बताईएको छ । ‘एनआरएनको अधिकार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आगामी बुधवार (मे १४) काठमाडौँमा कन्क्लेभको उद्घाटन हुने भएको छ ।
अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा दिएको थियो। भेटका क्रममा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघलाई सबै नेपालीको साझा, गैरराजनीतिक संस्था बनाउनुपर्नेमा जोड दिए। उनले संघले उठाएका जायज मागप्रति सरकार सधैं सकारात्मक रहेको बताएका थिए।
प्रधानमन्त्रीसँगको भेटघाटमा प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु पौडेललाई पनि कन्क्लेभमा सहभागी हुन अनुरोध गरेको छ । प्रतिनिधिमण्डलमा पूर्वअर्थमन्त्री युवराज खतिवडा, एनआरएनए उपाध्यक्षहरू डा. विनोद श्रेष्ठ, रोशन थापा, रोजिना प्रधान राई, उपमहासचिव सोम सापकोटा, सचिव टिका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सह-कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व आइसीसी सदस्य भीमलाल भट्टराई, केन्द्रीय सदस्य चिरन शर्मा र संघका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउत लगायतको उपस्थिति थियो।