चितवनमा ४ क्विन्टल गाँजासहित २ विदेशी पक्राउ

काठमाडौं। चितवनमा झण्डै ४ क्विन्टल गाँजासहित दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीसमेतको प्रहरी टोलीले भरतपुर महानगरपालिका–१ को लोकमार्ग सडकखण्डमा ३९६ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

मंगलबार बिहान ५ बजेको समयमा मुग्लिङ तर्फबाट नारायणगढ तर्फ आउदै गरेको भारतीय नम्बर प्लेट जेएचजरिोदुई डब्लु९६३१ भएको सवारीसाधन (ट्रक) लाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले गाजा बरामद गरेको चितवन प्रहरीले जनाएको छ।

उक्त ट्रकको क्याबिनको भागमा फल्स बटम बनाई सो फल्स बटममा प्लास्टिकले बेरिएका २८ वटा पोका बनाई लुकाई छिपाई लागुऔषध गाँजा ३९६ किलो ग्राम फेला परेको जनाइएको छ ।

पक्राउ पर्नेमा ट्रक चालक भारत उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाँउ बस्ने बर्ष ४५ को अनिल गिरी र सोही ट्रकमा सवार भारत उत्तर प्रदेश सम्बल जिल्ला केलादेवी थाना अपावती कुतवपूर गाँउ बस्ने वर्ष ३७ को राजपाल सिंह रहेका छन्। उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।