मेयर बालेन शाहप्रति प्रधानमन्त्री प्रचण्ड आक्रोशित

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग असन्तुष्ट देखिएका छन् । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बालेनले आफ्ना कुरा नसुनी कार्यक्रमस्थलबाट बाहिरिएको भन्दै असन्तुष्टिसँगै आक्रोशित बनेका हुन् ।

मेयर बालेनका काममा आँफुले समन्वय गरेको भएपनि आज उनले त्यसबारेमा नबोलेको भन्दै आक्रोशित बनेका प्रधानमन्त्रीले भने,“अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई पहिले बोलेर हिड्नेसँग पनि अलेलि इरिटेसन हुन्छ, आफूले भन्ने कुरा जे छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।”

प्रधानमन्त्रीले थपे, “उहाँले भन्नुभो, यहाँबाट निक्लनेबित्तिकै हुन्छ । म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने– बालेन्द्रजी, तपाईंले चाहे त्यो वाग्मतीमा हस्तक्षेपको कुरालाई लिएर होस् या तिनकुनेको कुरालाई होस् । चाहे फोहोरमैला व्यवस्थापनका निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्नेबारेमा कतिपटक सिंहदरबारमा बैठक भयो ?”