काठमाडौंलाई उज्यालो बनाउन खोज्दा प्रदेशले मुद्दा हाल्योःबालेन्द्र साह

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह(बालेन)ले उपत्यकाको विकास एकैपटक हुनुपर्ने बताउनुभएको छ ।

सोमवार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताउनु भयो ।

उहाँले उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानून बाझिएका कारण असहज भएको बताउनु भयो ।

साहले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानूनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गर्नुभयो । साथै उहाँले काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्न पनि आग्रह गर्नुभयो ।

प्रमुख साहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताउनु भयो ।