काठमाडौँ। परराष्ट्रमन्त्री एनपी (नारायणप्रकाश)साउदले गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशनको निर्वाचनका क्रममा भएको विवाद तीन अध्यक्षको छानबिन रिपोर्ट आएपछी मात्रै समाधान हुने बताएका छन्। कतार हुँदै युरोप भ्रमणका लागि जर्मनी पुगेका परराष्ट्रमन्त्री साउदले निर्वाचनमा भएको धाँधलीको विषयमा मन्त्रालय तत्कालीन तीन अध्यक्षको छानबिन रिपोर्टको प्रतीक्षामा रहेको बताएका हुन्।
यसअघि नै अध्यक्षहरू कुल आचार्य, रविना थापा र बद्री केसीले धाँधलीबारे छानबिनसम्बन्धी रिपोर्ट पछि मात्रै निर्वाचन प्रक्रिया अघि बढाउने भनेर विज्ञप्ति जारी गरेको जानकारी मन्त्रालयमा गराएको भन्दै साउदले तर अहिलेसम्म तीन अध्यक्षले छानबिनको परिणाम नदिएको बताए ।
यसको बारेमा मन्त्रालयले अध्ययन गरिरहेको भन्दै साउदले आफू विदेशमा रहेका नेपालीहरू मिलेर अघि बढुन् भन्ने पक्षमै रहेको बताए। तर, नमिलेको खण्डमा सरकारले नियमअनुसार आवश्यक निर्णय गर्ने उनको भनाइ छ ।
११ औँ महाधिवेशनमा बद्री केसीले भेरो सिस्टम ह्याक गरेर चुनाव आफ्नो पक्षमा पारेको आरके शर्मा र महेश श्रेष्ठले लगाउँदै आएका छन् । तर विवादका बिच बद्रीले शपथ लिएपछि शर्मा र श्रेष्ठले पनि शर्माको नेतृत्वमा नयाँ कार्यसमिति बनाएका थिए। दुई समूह भएपछि यति बेला परराष्ट्रमा एनआरएनएको विवाद विचाराधीन छ।
एनआरएनएको निर्वाचनमा अध्यक्ष पदमा बद्री केसी, आरके शर्मा र महेश श्रेष्ठ उम्मेदवार थिए। जुन निर्वाचनमा बद्री केसी निर्वाचित भएपछि श्रेष्ठ र शर्माले धाँधली भएको भन्दै मत परिणाम अस्वीकार गर्दै आएका छन्। विवादकै बिच केसीले अध्यक्षको शपथ लिएपछि असन्तुष्ट समूहले पनि शर्मालाई अध्यक्ष बनाएर गतिविधि गर्दै आएको हो।