विवाहपञ्चमीको कार्यक्रमबाट बेपत्ता ६ वर्षीया बालिका नग्न अवस्थामा मृत फेला

काठमाडौं। धनुषमा विवाहको मटकोर कार्यक्रमबाटै बेपत्ता भएकी एक बालिका नग्न अबस्थामा मृत फेला परेकी छन्।सबैला नगरपालिका ९ कुसमहाकी स्थानीय ६ वर्षीया बालिका राखी यादव खाल्डोमा जमेको पानीमा मृत फेला परेकी हुन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार बालिकाको लुगा खाल्डो छेउमा भेटिएको छ। विवाहपञ्चमीको अवसरमा मटकोर कार्यक्रम राखिएको र मंसिर २७ गते बेलुका मटकोर गर्न रथमा जाने क्रममा बालिका राखी बेपत्ता भएकी थिइन्। रातभर नभेटेपछि उनको अभिभावकले प्रहरीमा जानकारी गराएको थियो।

‘बालिका बेपत्ता भएको जानकारी पाएलगत्तै खोजतलासका लागि प्रहरी परिचालन गर्यौं,’ डिएसपी अवाले भने,‘प्रहरीले पनि नभेटेपछि तालिमप्राप्त कुकुर बोलायौं। कुकुरले पनि खोज्न सकेन। त्यसपछि शंका लागेर खाल्डोमा जमेको पानीमा खोज्दा बालिकाको शव हिजो बेलुका भेटियो।’

बालिका राखीको शवको प्रकृति हेर्दा शंकास्पद देखिएको छ। डिएसपी अवाले पनि घटनाक्रम हेर्दा शंकास्पद देखिएको बताए। उनले भने,‘घटना शंकास्पद छ। तर पोस्टमार्टम रिपोर्ट नआएसम्म अहिले केहि भन्न सक्दिन। अनुसन्धान भइरहेको छ।’

बालिका राखीको हत्या गरेको आशंकामा प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।