आज नेपालबाट उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने

काठमाडौं। आजराति नेपालबाट मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ। नेपालबाट आकाश खुलेको बेलामा उल्का वर्षा अवलोकन गर्न सकिने खगोलविद्हरुले बताएका छन्।

नेपालको जुनसुकै ठाउँबाट बेलुका ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ। यो वर्ष मंसिर १८ गतेदेखि शुरु भएको मिथुन उल्कावर्ष पुस १ गतेसम्म सक्रिय रहने भट्टराईले बताउनुभयो।

अत्यधिक सक्रिय भने आज राति हुने र अत्यधिक सक्रिय भएका बेला प्रतिघण्टा १५० वटासम्म उल्का देखिन सक्ने उहाँको भनाइ छ। उल्का वर्षाको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामकरण गरिएको हो।

उल्का वर्षा हेर्न चाहनेले आफ्नो घरबाट वा प्रकाश प्रदूषण(उज्यालो प्रकाशका कारण आकाशमा हुने प्रदूषण)कम भएको ठाउँबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन्।