नेपाली युवा शाक्य चीनको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौं। नेपाली युवा एवं अभियान्ता उजय शाक्य चिनमा एक प्रतिष्ठित अवार्डबाट सम्मानित भएका छन्। आउटरिच नेपालका संस्थापक शाक्य प्रतिष्ठित’ ईसीएई इनोभेटिभ मार्केटर अफ दी इयर २०२३’ अवार्डबाट सम्मानित भएका हुन्। ईसीआई फेस्टिभलले गत डिसेम्बर ७ मा आयोजना गरेको गाला इभेन्टमा शाक्यलाई अवार्ड प्रदान गरिएको हो।

दक्षिण एसियाको एक अभियन्ताका रूपमा परिचय बनाएका शाक्यले यस क्षेत्रमा विज्ञापन र बजारीकरणका लागि पु¥याएको योगदानको कदर गर्दै चीनको वोएशीमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो। शाक्यले ईसीआई फेस्टिभलमा आफ्नो धारणा राख्दै डेटाद्वारा सञ्चालित संसारमा मानवीय भावनाको दिगो महत्त्वमाथि विशेष प्रकाश पारेका थिए।

ईसीआई फेस्टिभलमा विश्वका १३ वटा देशका प्रतिनिधि भेला भएर ’ग्लोबल स्स्टेनेबल इनोभेशन एन्ड सिभिलाइजेशन डेभलपमेन्ट इनिसिएटिभ’ विषयमाथि छलफल गरेका थिए। यो पहलको उद्देश्य सभ्यताको भविष्यको सशक्तीकरणमा ’डिजिटलाइजेशन’ को प्रयोग गरेर दिगो विकास वातावरण प्रणालीको निर्माण गर्नु रहेको थियो।

वोएशी राष्ट्रिय हाई टेक औद्योगिक विकास क्षेत्र व्यवस्थापन कमिटी र इन्टरनेशनल आन्ट्रप्रेनर्स क्रिएटिभ एन्ड इनोभेटर्स एसोसिएशन (आईईसीआईए) द्वारा संयुक्तरूपमा आयोजित ईसीआई फेस्टिभल विश्वभरका नवप्रवर्तकहरूलाई एकै ठाउँमा जमघट गराउनका लागि प्रख्यात छ।

ईसीआई फेस्टिभलले आफ्नो प्रभाव र पहुँचलाई विस्तार गर्दै भिन्न भिन्न सहरहरूमा यस प्रकारको भेला आयोजना गर्दै आएको छ।