दार्चुलाको महेन्द्र माविले लगायो मोबाइल फोनमा प्रतिबन्ध

काठमाडौं। दार्चुलाको एक विद्यालयमा मोबाइल फोनमा प्रतिबन्ध लगाईएको छ। जिल्ला सदरमुकाम खलङ्गास्थीत महाकाली नगरपालिका–४ मा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध गरेको हो।

विद्यार्थीले मोबाइल फोनको दुरुपयोग गर्न थालेपछि आजदेखी लागु हुने गरी विद्यालयमा मोबाइल फोन प्रतिबन्ध गरेको प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए। विद्यार्थीले पढाइमा ध्यान कम दिने गरेको र कक्षाकोठामा समेत मोबाइल फोन चलाउन थालेपछि प्रतिबन्ध लगाएको उहाँले बताए।

विद्यार्थीले मोबाइल फोनलाई खाली फोटो खिच्ने र सामाजिक सञ्जाल फेसबुक चलाउन प्रयोग गर्ने गरेको पाएपछि प्रतिबन्ध गरेको प्रधानाध्यापक जोशीले बताउनु भयो। विद्यालयले यसअघि पनि मोबाइल फोन प्रतिबन्ध गरेकोमा कोभिड–१९ महामारीका कारण खुला गरेको थियो।

हिजो विद्यालयमा प्रहरीले आयोजना गरेको लागुपदार्थ दुर्व्यसन तथा ओसारप्रसार,सामाजिक सञ्जालको गलत प्रयोग र सावधानीका बारेमा विद्यार्थीलाई सचेत गराउने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममार्फत विद्यालयले प्रमुख जिल्ला अधिकारी किरण जोशी र प्रहरी नायब उपरीक्षक(डीएसपी) शिवबहादुर सिंहलाई मोबाइल प्रतिबन्ध लगाएकोबारे जानकारी दिएको हो।

महेन्द्र नमुना माविमा शिशुदेखि कक्षा १२ सम्मको पढाइ हुने गरेको छ भने प्राविधिक विषयको पनि पढाइ हुँदै आएको छ। विद्यालयमा झन्डै २८ सय जना विद्यार्थी रहेका प्रधानाध्यापक जोशीले जानकारी दिनुभयो ।विद्यालयले मोबाइल फोन प्रतिबन्ध गरिएकोबारे जिल्ला प्रशासनसहित जिल्ला प्रहरी कार्यालयलाई पनि जानकारी दिएको छ।