पशुपतिमा आज नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन गरिदैं

काठमाडौँ। पशुपतिनाथ मन्दिरमा आज बहुमूल्य नागमणि,एकमुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन गरिने भएको छ। मन्दिरको भण्डारमा रहेको बहुमुल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख आज बिहान सर्वसाधारणका लागि मन्दिरको पश्चिम ढोकाअघि प्रदर्शन गरिने भएको हो।

आज बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि,एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन मन्दिरको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई वर्षभर सुरक्षित राखिएको छ भनेर सर्वसाधारणलाई देखाउने गरिन्छ।

आज पशुपतिनाथको पश्चिम ढोकाअघि देखाइने उक्त सामग्रीलाई आइतबार सर्वसाधारणका लागि भनी प्रदर्शन गरिएको थियो।अब एक वर्षसम्म यी वस्तु सुरक्षितसाथ राखिनेछ भनी भण्डारको तेस्रो तलामा राख्ने तय भएकाले मन्दिरमा आउने सबैलाई आज अन्तिम पटक दर्शन गर्न देखाउने परम्परा रहेको छ।

बहुमूल्य नागमणि,एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई कोषका अधिकारी, प्रहरीलगायत सरोकारवाला निकायका प्रतिनिधिको निगरानी र रोहवरमा प्रत्येक महिना मन्दिरमा भण्डारी परिवर्तन हुँदा बुझाउने गरिन्छ।