पहिलो एनआरएन विज्ञान तथा प्रविधि पुरष्कार वैज्ञानिक डा. अधिकारीलाई

काठमाडौँ। गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार वैज्ञानिक डा राजु अधिकारीलाई प्रदान गरिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा स्थापित उक्त पुरष्कार अष्ट्रेलियामा बसोबास गर्दै आएका डा.अधिकारीलाई प्रदान गरिएको हो।

नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले डा.अधिकारीलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। पुरस्कार प्राप्त गरेसँगै डा. अधिकारी यो पुरस्कार पाउने पहिलो गैर आवासीय नेपाली वैज्ञानिकसमेत बनेका छन्।

स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, OLED खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नविन प्रकारका वातावरण मैत्री प्लास्टिक पदार्थहरुको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नविन प्रविधि विकास गर्नुका साथै विदेशमा रही नेपाल साइन्स फाउन्डेशन ट्रष्ट लगायतका संस्था मार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्व विद्यालय तथा प्रज्ञा प्रतिस्ठान र अनुसन्धान केन्द्रहरुसंग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा योगदान पुराएकाले डा अधिकारीलाई उक्त पुरष्कार प्रदान गरिएको नाष्टले जनाएको छ।

उनी गैर आवासीय नेपाली संघको सीप, ज्ञान तथा नव प्रवर्तन विभागका पूर्व अध्यक्ष (संयोजक)पनि हुन्। दाङ देउखुरी मुसुरिया निवासी डाक्टर अधिकारी हाल अष्ट्रेलियाको सीएसआइआरओ र RMIT विश्वविद्यालय प्रमुख अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत छन्। डा अधिकारीले २६ ओटा पेटेन्टहरु दर्ता गरेका छन् भने उनका झन्डै १०० ओटा अनुसन्धानमुलक लेखहरु विभिन्न जर्नलहरुमा प्रकाशित भएका छन्।

उनले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ। उनले सन् १९८७ देखि १९९१ सम्म तत्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान (रोनाष्ट) को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुख को रुपमा पनि काम गरेका थिए। उनले गैर आवासीय नेपाली संघ द्वारा हालै काठमाडौँमा आयोजित तेश्रो विश्व ज्ञान सम्मेलन को अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए।

“नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान (नाष्ट) ले स्थापना गरेको पहिलो विज्ञान तथा प्रविधि पुरष्कार प्राप्त गर्दा मलाई साह्रै खुसी लागेको छ। हामीले प्रवासमा रहेका वैज्ञानिकहरुले पनि नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान गर्नु पर्छ भनेर संस्थागत पहल गर्दै एक थियौं। यो पुरस्कारले प्रवासमा रहेका अरु कैयौं युवा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई प्रोत्साहित गर्ने मैले विश्वास लिएको छु,“ डा अधिकारीले भने।

गैर आवासीय नेपाली संघले प्रवासमा रहेका वैज्ञानिक प्रतिभाहरुको सीप र क्षमता नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले सन् 1997 मा सीप, ज्ञान तथा नव प्रवर्तन (SKI) कमिटि गठन गरेको थियो।