न्यूरोडबाट अवैध सात किलो सुन बरामद, एकजना पक्राउ

काठमाडौं। काठमाडौंमा फेरी पनि ठुलो परिमाणमा अबैध सुन बरामद गरिएको छ। काठमाडौं न्यूरोडबाट प्रहरीले अवैध करिब सात किलो सुन बरामद गरेको छ। न्यूरोडस्थित ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानामा छापा मार्दा उक्त सुन फेला पारेको प्रहरीले जनाएको छ।

सुन कैलाली घर भइ नागार्जुन बस्ने पदम पाण्डेको रहेको आशंका गरिएको छ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई पक्राउ गरेको छ। प्रहरीले सुनबारे थप अनुसन्धान अघि बढाएको छ।

बरामद भएको सुनमध्ये केही गहना र केही विस्कुट आकारका रहेको कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। “सुनको एकिन तौल आएको छैन। करिब सात किलो भन्ने छ। हामी थप अनुसन्धान गर्दैछौँ,” एसपी रेग्मीले भने।