एनसेल प्रकरणबारे छानबिन समिति बनाउने सरकारको निर्णय

काठमाडौं। दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री प्रकरणबारे सरकारले अध्ययन तथा अनुसन्धान गर्न छानबिन समिति बनाउने भएको छ।

हिजो बेलुकी बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकपछि सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा प्रकाशित खबरप्रति सरकारको गम्भीर ध्यानाकर्षण र मन्त्रिपरिषद्को बैठकबाट आवश्यक अध्ययन तथा छानबिन समिति बनाउने निर्णय भएको बताउनुभयो।

उहाँले समिति कति सदस्य बन्ने भन्ने टुङ्गो लागिनसकेको बताउनुभयो। मन्त्री शर्माले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा एनसेल शेयर खरिद–बिक्री भएको बताउनुभयो।

मन्त्री शर्माले सरकारले एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा न्यूनीकरण तथा सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने उल्लेख गर्नुभयो ।