काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अकस्मात अस्वस्थ भएपछी अस्पताल भर्ना भएका छन्। गएराति छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठलाई शहीद गङ्गालाल हृदयरोग केन्द्रमा लगिएको हो। गृहमन्त्री श्रेष्ठ हिजो साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा सहभागी थिए।
छातिमा असहज भएपछि उनी नियमित स्वास्थ परीक्षणको गर्न अस्पताल पुगेका हुन्। सचिवालयका अनुसार उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो। गृहमन्त्रालयमा सहसचिव/प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,बाँसबारीमा गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ। श्रेष्ठ चीनको भ्रमणमा रहेको बेलामा मुटुमा ’एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको थियो।
‘माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू मित्रराष्ट्र गणतन्त्र चिनको भ्रमणमा रहेको बेला(मिति २०८० असोज ३० देखि कार्तिक १ सम्म) मा मुटुमा ’एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको थियो। उहाँको उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको व्यहोरा जानकारीमा आएको थियो।’
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यू नियमित स्वास्थ्य परीक्षणका क्रममा आज मिति २०८० मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना हुनुभई आंशिक अवरोध रहेको भागमा समेत डा. अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरी सघन उपचार कक्षमा उपचाररत रहनु भएको र हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा अस्पतालले जनाएको छ।’