भारतको मणिपुरमा फेरी हिंसात्मक झडप,१३ जनाको ज्यान गयो

काठमाडौं। भारतको मणिपुर राज्यमा हिंसात्मक झडप हुँदा १३ जनाको ज्यान गएको छ। मणिपुरबाट झन्डै ६० किलोमिटर दक्षिणपूर्वको लेइथु इलाकामा उक्त झडप भएको हो।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान शुरु गरेकोमा लेइथु गाउँमा १३ वटा शव भेट्टाएको थियो।

गैरआदिवासी मेइती समुदायलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्ने अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा भएको जनजातीय प्रदर्शनका क्रममा राज्यमा मे ३ देखि हिंसा भड्किएपछि मणिपुर तनावग्रस्त बनेको छ।

बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीचको जातीय द्वन्द्वका कारण यो वर्ष ६० हजार विस्थापित भएका छन्। राज्यमा प्रदर्शनकारीले घर र पसललाई लक्षित गरी तोडफोड र आगजनीसमेत गरेका थिए।

प्रहरीले गएको भदौ १५ गते सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएको जेठ १५ गतेदेखि अहिलेसम्म यस क्षेत्रमा एक सय ७५ जनाको ज्यान गएको छ। तथ्याङ्कअनुसार यो अवधिमा एक हजार एक सय १८ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता भएका छन् ।