गाजामा मानिसहरुको अवस्था नाजुक र पीडादायी छ : रेडक्रस

काठमाडौं। युद्धग्रस्त प्यालेस्टिनी क्षेत्र(गाजामा) नागरिकहरुको अबस्था अत्यन्तै दयनिय र नाजुक बनेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ। नागरिकको सुरक्षाको आह्वानसहित अन्तर्राष्ट्रिय रेडक्रस समितिका अध्यक्ष मिर्जाना स्पोल्जारिक युद्धग्रस्त क्षेत्र गाजा पुगेका छन्।

अध्यक्ष मिर्जाना स्पोल्जारिक आफू गाजामा रहेको र मानिसहरुको असह्य पीडालाई देखिरहेको सामाजिक सञ्जालमा उल्लेख गरे।

कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासले केही बन्धक र कैदीहरू आदानप्रदान गरेको एक हप्ता लामो युद्धविराम भङ्ग भइ शुक्रवारदेखि पूर्ण रूपमा युद्ध शुरु भएपछि उनि गाजा पुगेका हुन् । उनले गाजामा सर्वसाधारणका लागि कुनै पनि स्थान सुरक्षित नहुनु अस्वीकार्य रहेको बताए।

बन्धकलाई रिहा गर्नुपर्ने र आईसीआरसीलाई सुरक्षित रूपमा उनीहरूसँग भेट्न दिनुपर्नेमा उनको जोड छ । त्यहाँ सैन्य घेराबन्दीका कारण पर्याप्त मानवीय सहायता पनि सम्भव नरहेको आईसीआरसीले विज्ञप्तिमा जनाएको छ ।