सुनको भाउमा फेरि नयाँ रेकर्ड : कति पुग्यो आज ?

काठमाडौं। सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ। आज सुनको भाउ तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सुनको भाउ तोलामा एक लाख २० हजार ८ सय रुपैयाँ थियो। हिजोको तुलनामा तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउले फेरि नयाँ रेकर्ड कायम राखेको हो। शुक्रवार सुनको भाउ तोलाको एक लाख १९ हजारमा झरेको थियो।

शुक्रवारको तुलनामा हिजो एक हजार ८ सय रुपैयाँले बढेको सुन आज फेरि हिजोको तुलनामा ८ सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभएको छ।

चाँदीको भाउ भने आज पनि हिजो जस्तै तोलाको एक हजार ५ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ।यसअघि सोमवार सुन प्रतितोला एक लाख १७ हजार ४ सय तथा मंगलवार प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधवार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ।