मह जोडी डिसेम्बर तेस्रो साता बेलायत जाँदै, यस्तो छ तयारी…

काठमाडौं।बरिष्ठ हास्य कलाकारद्वय महजोडी(मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)डिसेमबर तेश्रो साता बेलायत जाने भएका छन्। च्यारिटी कार्यक्रमका लागि महजोडी बेलायत जान लागेका हुन्। बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले जनाएअनुसार ‘मह जोडी यूके टुर’को तयारी तीव्र पारिएको छ।

द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको बेलायतको लागि भिजा लागिसकेको र २० डिसेम्बरमा बेलायत पुग्ने जानकारी दिए। कार्यक्रमबारे जानकारी दिन आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा मह जोडीको पहिलो कार्यक्रम आउंदो २३ डिसेम्बर दिउसो ह्यारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम क्रिसमस इभ अर्थात २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा तय भएको जानकारी दिए ।

ह्यारोमा चर्चित गायक प्रकाश सपुत समेतको प्रस्तुति रहने तामाङले बताए। कार्यक्रमको बीचमा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने जनाइएको छ ।अहिले नै टिकट लिए प्रवेश शुल्क जम्मा २५ पाउण्ड लाग्ने र पछि यो वृद्धि हुंदै जाने आयोजकले बताए। दर्शकहरुले अनलाइन तथा प्रवेशद्वारमा पनि टिकट खरिद गर्न सक्नेछन्।

बेलायतमा रहेका गोर्खा भेट्रान र तिनका वयस्क सन्तानहरुको कल्याणकारी कार्यमा समर्पित च्यारिटी संस्था द गोर्खा सेन्टरको कोष अभिवृद्धिका लागि मह प्रहसन गर्न लागिएको तामाङले बताए। मह टुर खर्चिलो भएपनि दर्शक उपस्थिति उल्लेख्य रहने विश्वास आयोजकलाई छ।

ह्यारो कार्यक्रममा कम्तीमा १५ सय र अल्डरसटमा करिब ६ सय दर्शक आउने अपेक्षा सेन्टरको छ। नेपालका चर्चित कलाकारद्वय महजोडीलाई बोलाएर बेलायतवासी नेपाली दर्शकलाई गुणस्तरिय कार्यक्रममार्फत भरपुर मनोरन्जन दिने प्रयत्न समेत आफूहरुको रहेको तामाङले बताए।

अल्डरसट कार्यक्रमका लागि स्वयंसेवक संयोजन गरिरहेकी मधु गुरुङले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा सेन्टरले झण्डै ५ सय बढी गोर्खा भेट्रानलाई सामाजिक सुरक्षा, अंग्रेजी भाषा, स्वास्थ्य समस्या लगायतमा सहयोग गरेको जनाएको छ।