
काठमाडौं। इजरायल र हमासबिचको जारी युद्धमा परि हमास नियन्त्रणमा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशिको रिहाइका लागी पहल गरिदिन नेपालले कतारसँग अपिल गरेको छ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीलाई प्रधानमन्त्री पुष्कमल दाहाल‘प्रचण्ड’ले विपिनको सकुशल रिहाइमा सघाउन आग्रह गर्नुभएको हो।
मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गर्नुभयो।
यस्तै, परराष्ट्रमन्त्री एनपी साउदले पनि राज्यमन्त्री मुरैखीसँगको भेटमा जोशीको रिहाइका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ। नेपालको आग्रहलाई सकारात्मक रुपमा लिँदै कतारी राज्यमन्त्रीले विपिनको रिहाइका लागि प्रयास गर्ने आश्वासन दिनुभएको छ।
हिजोदेखि शुरु भएको चार दिने युद्धविरामकै क्रममा विपिनको रिहाइका लागि सरकारले इजरायलसँग पनि आग्रह गरेको छ। गएको असोज २० गते हमासले इजरायलमा आक्रमण गर्ने क्रममा विपिनलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो।