काठमाडौं। भारतले अनुदानमा दिएको १५ वटा मुर्रा जातको राँगा हिजो नेपाल आइपुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणका अवसरमा भारत सरकारले नेपाललाई बस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका उन्नत जातका मुर्रा राँगा उपलब्ध गराउने सहमति गरेको थियो। सोहिअनुसार हिजो बाँकेको जमुनाहा नाका हुँदै मुर्रा राँगा नेपाल भित्रिएका हुन्।
उपलब्धता र भौगोलिक समानतासमेतका आधारमा सम्भावित क्षेत्र पहिचान गरी उच्च प्रजनन क्षमताका मुर्रा राँगा नेपाल ल्याउन नेपाल सरकारले लामो प्रयास गरिरहेको थियो।
सोहीअनुसार नेपाल भित्रिएका यी राँगाबाट नेपालमा भैँसिको नश्ल सुधार र दुग्ध उत्पादनमा उल्लेख्य वृद्धी आउने विश्वास गरिएको छ।आवश्यक सबै प्रक्रिया पूरा गरी नेपाल ल्याइका राँगा लहान पोखरा र गौघाटमा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा व्यवस्थापन गरिने पशु सेवा विभागले जनाएको छ।
भारतबाट प्राप्त राँगामध्ये राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा सात, राष्ट्रिय पशु प्रजनन कार्यालय लहानमा पाँच र राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्जमा तीन वटा राखिने छ।