माइतीघरमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन

काठमाडौँ। माइतीघर तथा आसपास विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले हालै निषेधित क्षेत्र घोषणा गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।लअधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका हुन्।

सिलवालले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका छन् भने वारेसमार्फत भद्रप्रसाद नेपालले दर्ता गराएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई विपक्षी बनाइएको छ।

संविधानको धारा १७ को उपधारा १ र उपधारा २ को खण्ड(क) र (ख)ले प्रत्येक नेपाली नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता प्रत्याभूत गरेको रिट निवेदकको जिकिर छ।

माइतीघर मण्डलामा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न निषेध गर्नेगरी जारी गरिएको सूचना उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी बदर गरिपाउन रिट निवेदनमा माग गरिएको छ।

मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा एउटा पक्ष र राष्ट्रिय युवा संघको अगुवाइमा अर्को पक्षले प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डला आसपास निषेधित क्षेत्र घोषणा गरेको छ।