काठमाडौं। बन्द भएको चार वर्षपछी आजदेखि कोरला नाका सञ्चालनमा आउँदै छ। कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि आजदेखी माथिल्लो मुस्ताङका दुई स्थानीयहरुलाई लक्षित गरी सञ्चालनमा ल्याउन लागीएको हो। आज दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाकाको उद्घाटन गर्दैछन्।
चीन सरकारले अहिलेलाई माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षितगरी नाका सञ्चालन गर्न लागेको हो। चिनियाँ पक्षले कोरला नाकामा निर्यातका लागि सामग्रीहरु ल्याएका छन्। चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ।
लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरुको अनुरोधमा अस्थायी संरचना निर्माणका लागि चीन सरकारले पाँचवटा कन्टेनर उपलब्ध गराएको छ। नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको छ। नाकामा आवतजावतका लागि एक महिनाअघि अनुमतिपत्र वितरण गरिएको छ।
अनुमतिपत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधरणहरु कोरला नाकामा आवतजावत गर्न पाउने छन्। प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रवेश अनुमतिपत्रका आधारमा कोरला नाकादेखि ३० किलोमिटर चीनको भू–भाग सम्म पुगेर जुनसुकै समयमा व्यावसायिक कारोबार गर्न पाउने बताए। नाका सञ्चालन नहुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको जनजीवन प्रभावित हुँदै आएको थियो।
यसअघि कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो। नाका सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङका सर्वसाधरणहरुले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, इलोक्ट्रोनिक सामग्री, लत्ताकपडालगायत आयात गर्न पाउने छन् भने यताबाट पस्मिना, कृषि उत्पादन र यार्सागुम्बाको निर्यात हुने बताइएको छ।