काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फजुल खर्च रोक्न र संसदिय विकास कोषको रकम पुनर्निर्माणमा लगाउन आग्रह गरेका छन्।
महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत भूकम्पपछिको पुनर्निर्माणमा ठूलो खर्च हुने भएकाले सरकारबाट भइरहेका फजुल खर्च रोक्न र संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको करिब ८ अर्ब २५ करोड रुपैयाँ पुननिर्माणमा लगाउन आग्रह गरेका हुन्।
उनले लेखेका छन्,‘भूकम्पपछि तत्काल राहत, अस्थायी आवास निर्माण र पुनर्निर्माण सम्म पुग्दा ठूलो खर्च लाग्छ किनकि भूकम्पले क्षति पुर्याएका हजारौँ त घर मात्र बनाउनु पर्नेछ। सरकारले यो सबैको व्यवस्थापन गर्नुपर्नेछ। त्यसैले हामीले प्रधानमन्त्रीलाई भेटेरै दुई वटा कुरा तत्काल गर्न भनेका छौँ ।’
एक,सरकारबाट भइरहेका फजुल खर्च रोक्नुहोस् र भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुहोस्। अनि बल्ल, सरकारको गम्भीरता देखिन्छ। दुई,‘संसदीय कोष’ भनेर चिनिने‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ को लागि छुट्टाएको करिब ८ अरब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्नुहोस्।
सरकारले आफैँले तत्काल गर्न सक्ने काम सुरु गरेपछि मात्रै सहयोगी, दाताहरू तथा अन्यत्रबाट सहयोग माग्ने, व्यवस्थापन र परिचालन गर्ने नैतिक बल सरकारलाई प्राप्त हुने उनको भनाइ छ। भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमबाट फर्केपछि महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शमाले शनिबारे प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए।