काठमाडौं। कोशी प्रदेश सरकारमा सत्तारुढ गठबन्धनका दलहरुले मन्त्रिपरिषद्मा भागवण्डा टुंग्याएका छन्। गठबन्धनका दलहरु नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले भागवण्डा टुंगो लगाए पनि मन्त्रिपरिषद विस्तार भने तिहारपछि मात्रै गर्ने सहमति छ।
मुख्यमन्त्री केदार कार्कीनिकट स्रोतकाअनुसार प्रदेशका ९ मन्त्रालयमध्ये नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार वटा राख्ने छ। नेकपा माओवादी केन्द्रले ३ र नेकपा एकीकृत समाजवादीले एउटा मन्त्रालय लिनेछ।
जसपाले नआउने बताए पनि गठबन्धन दल भएका कारण एउटा मन्त्रालय राख्ने सहमति भएको छ। २७ असोजमा मुख्यमन्त्री नियुक्त कार्कीको मन्त्रिपरिषदमा हाल कांग्रेसबाट शमशेर राई, माओवादीबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगु बिना विभागीय मन्त्री छन्।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तिहार र छठपछि सरकार विस्तार गर्ने सहमति भएको बताए।