काठमाडौं। सरकारले नेपालीहरुको आकर्षक गन्तव्य पोर्चुगलमा पनि नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको हो। यस्तै बैठकले सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय पनि गरेको छ।
हाल नेपालका विभिन्न देशमा ३० आवासीय दूतावास,३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा कूटनितिक नियोगहरू सञ्चालन गरिरहेको छ। राज्यकोषबाट बर्सेनि अर्बौं खर्च गरेर खोलेका ती नियोगबाट उचित प्रतिफल लिन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारले पोर्चुगलमा दूतावास खोलेर राजदूत नियुक्त गरेपछी त्यहाका नेपालीहरु खुशी भएका छन्।
पोर्चुगलमा हाल करिव एक लाख नेपालीहरु पुगिसकेका छन्। एनआरएनएले समस्यामा परेका नेपालीहरुको लागी अभियान नै चलाएको थियो। पोर्चुगलमा दुतावास खोल्न एनआरएनएले पटक पटक माग गर्दै आएको थियो। आफुहरुको माग पुरा गरेकोमा एनआरएनए अध्यक्ष आरके शर्माले नेपाल सरकारलाई धन्यवाद ब्यक्त गरे।
पोर्चुगलमा दुतावास खोल्न अध्यक्ष शर्माको नेतृत्वमा प्रधानमन्त्री, पररास्ट्रमन्त्री, श्रम मन्त्रीकोमा एनआरएनएको प्रतिनिधीमन्डल पटक पटक डेलिगेसन पनि गएको थियो। पोर्चुगलमा दुतावास स्थापना गरेर सरकारले राम्रो काम गरेको एनआरएनए युरोप संयोजक चिन्तामनि सापकोटाले बताए।
सरकारले गत असारमा जारी गरेको बजेटमा पनि दूतावास संख्या पुनरावलोकन गर्ने उल्लेख गरेको थियो। पोर्चुगलमा दुतावास स्थापनापछी यहाँ रहेका हजारौ नेपालीले सरकारलाई धन्यवाद ब्यक्त गरेका छन ।