काठमाडौं। डोटीमा यात्रुबाहक बोलेरो जिप दुर्घटना परेको छ। गएराती साढे २ बजे भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। शिखर नगरपालिका–६को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल,३२ वर्षीया धनशोभा बुढा,उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिनाकी छोरी प्रार्थना रहेका छन्।
घाइते हुनेमा हिमाली गाउँपालिका–५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल,२४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल रहेको प्रहरीले जनाएको छ। उनीहरू मध्ये विमलाको अवस्था गम्भीर रहेको छ।
घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ भने चालक गौमुल गाउँपालिका–४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक्कासी अनियन्त्रित भएर सडकबाट करीब ६० मिटर तल खसेको जिप दुर्घटनाको कारण भने खुलेको छैन।