काठमाडौं। कोशी प्रदेश सरकारबाट एमाले बाहिरिएको छ। मुख्यमन्त्री केदार कार्कीले एमालेको सहमति विपरित माओवादी र एकीकृत समाजवादी समेटेर मन्त्रीपरिषद विस्तार गरेपछि एमालेले बाहिरिने निर्णय लिएको हो। यो निर्णयसँगै एमालेबाट मन्त्री भएका राम रानाले पदबाट राजीनामा दिएका छन्।
रानाले विहान मन्त्री परिषद विस्तारमा असहमति जनाउदै मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन्। एमालेको समर्थनमा मुख्य मन्त्री नियुक्त भएका कार्कीले एमालेका राम राना र काङ्ग्रेसका सम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए।
केन्द्रिय सत्ता गाठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्रीको उमेदवार बनाउने निर्णय गरेपछि कार्कीले विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनी संविधानको धारा १६८(५) अन्तरगत मुख्यमन्त्री नियुक्त भएपछि कार्तिक १ गते केन्द्रिय सत्ता गठबन्धनका दलहरुले विश्वासको मत दिएका थिए।
उनले विश्वासको मत पाएसँगै मन्त्रीपरिषद विस्तारमा ढिलाई गर्दै आएका थिए। उनले शुक्रवार माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल प्रसाद जवेगुलाई मन्त्री बनाएका थिए। सहमति विपरित माओवादी र समाजवादीलाई सरकारमा लगेपछी एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो।