काठमाडौं। इजरायलमा हमास समुहको आक्रमणमा परी बेपत्ता रहेका विपीन जोशीको खोजी तिब्र राखेको इजरायलले बताएको छ। इजरायलका राष्ट्रपति इसाक हर्जोगले खोजीमा कुनै कसुर बाँकी नराख्ने बताएका छन्।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले विपीनको खोजीका लागि गरेको आग्रहमा राष्ट्रपति हर्जोगले जोशीको खोजीमा कुनै कसर बाँकी नराख्ने बताएका हुन्।
राष्ट्रपति निवासमा करिब एक घण्टासम्म चलेको भेटमा राजदूत रिजालले विपीनको खोजीका लागि इजरायलबाट नेपालले अझै सार्थक प्रयासको अपेक्षा गरेको बताएकी थिइन्।
जवाफमा राष्ट्रपति हर्जोगले घाइतेहरूको उपचारको व्यवस्था इजरायल सरकारले गर्ने र हराइरहेका विपीनको खोजीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए।
भेटमा राष्ट्रपति हर्जोगले हमासको आक्रमणका कारण इजरायल बाध्यतावश युद्धमा जानु परेको बताएका थिए। हर्जोगले हमासको आक्रमणमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीप्रति श्रद्धान्जली दिँदै शोकाकुल परिवारजनमा समबेदना व्यक्त गरेका थिए।