एनआरएनए अभियान्ताहरु कुटिएको घटनामा अध्यक्ष केसी र महासचिव जोशिको खण्डन(विज्ञप्तीसहित)

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष डा.बद्री केसी समुहले संघका अर्का अध्यक्ष राजेन्द्रकुमार(आरके)शर्माको समूहले कार्यलयमा हुलहज्जत गरेर काम गर्न नदिएको आरोप लगाएको छ। हिजो मंगलबार उत्पन्न विवाद र घटनापछी जवाफस्वरुप आज एक विज्ञप्ति जारी गर्दै केसी समुहले यस्तो आरोप लगाएको हो।

आज अध्यक्ष डा.केसी र महासचिव गौरीराज जोशीले जारी गरेको विज्ञप्तीमा निर्वाचनमा उपविजेता बनेको शर्मा पक्षले संघको केन्द्रिय कार्यालय बालुवाटारमै हुलहुज्जत गरेको र कार्यालय सञ्चालनमा बाधा पुराएको दाबी गरिएको छ। हिजो डा. केसी पक्षले एनआरएनए कार्यलयमै एमाले नेता महेश बस्नेत र एमालेकै भातृ संगठन युवासंघका नेताहरुसम्मिलित कार्यक्रम गरिरहेको समयमा शर्मा समुह प्रवेश गरेपछी झडपको स्थीति सृजना भएको थियो।

त्यसक्रममा युवा संघका कार्यकर्ताबाट नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्षसमेत रहेका ओम शर्मासहितका एनआरएनए अभियन्ता कुटिएका थिए। घटनापछी लगत्तै शर्मा समुहले विज्ञप्ती जारी गर्दै र प्रहरीमा उजुरी दिएसँगै आज केसी समुहले त्यसको प्रतिकार गरेको हो।

गत अक्टोबर १९ तारिखमा भएको निर्वाचनमा धाँदली भएपछी एनआरएनएमा विवाद उत्पन्न भएको थियो त्यसलगत्तै अध्यक्षका उमेदवारद्वय महेश श्रेष्ठ र आरके शर्मा समुहले शर्मा नेतृत्वमा समानन्तर समिति गठन गरेको छ। त्यसयता केसी र शर्मा दुबै समुहले संघमा आ आफ्नो दाबी गर्दै हिँडेपछी समस्या उत्पन्न भएको छ।

आज जारी विज्ञप्तीमा अध्यक्ष केसी र महासचिव जीशीले निर्वाचनमा उपविजयी भएको पक्षले संघको नियमित कार्यमा बाधा पुर्याउने, कार्यालयमा हुलहुज्जत गर्ने, कर्मचारीहरुलाई आफू अनुकुल काम गर्न दबाब दिई मानसिक रुपमा प्रताडित गर्ने, संघको नियमित कामकाजका लागि प्रयोग हुँदै आएको बैंकको खाता बन्द गर्न पत्राचार गर्ने लगायतका अत्यन्त अशोभनीय गतिविधिहरु गर्दै आएकोले अहिले सचिवालयका कर्मचारीहरु भौतिक रुपमा कार्यालयमा उपस्थित भएर काम गर्न नसक्ने स्थिति पैदा भएको उल्लेख गरेका छन् ।

केसी समुहले जारी गरेको विज्ञप्ती, जस्ताको तस्तैः

प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली संघमा पछिल्लो समय उत्पन्न परिस्थितिबारे सबैलाई अवगत नै छ । संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट सन् २०२३–२५ को कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को लागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण तथा प्रमाणपत्र समेत लिई नियमित काम समेत सुरु गरिसकेको अवस्थामा निर्वाचनमा उपविजयी भएको पक्षले संघको नियमित कार्यमा बाधा पुर्याउने, कार्यालयमा हुलहुज्जत गर्ने, कर्मचारीहरुलाई आफू अनुकुल काम गर्न दबाब दिई मानसिक रुपमा प्रताडित गर्ने, संघको नियमित कामकाजका लागि प्रयोग हुँदै आएको बैंकको खाता बन्द गर्न पत्राचार गर्ने लगायतका अत्यन्त अशोभनीय गतिविधिहरु गर्दै आएकोले अहिले सचिवालयका कर्मचारीहरु भौतिक रुपमा कार्यालयमा उपस्थित भएर काम गर्न नसक्ने स्थिति पैदा भएको छ । यस परिस्थितिबारे प्रहरी प्रशासनलाई जानकारी गराईसकिएको र प्रहरीले आफ्नो तर्फबाट निगरानी गरिरहेको छ ।
मिति २०८०\०७\१४ (३१ अक्टोबर २०२३) मा यस संघका सन् २०२३–२५ को कार्यकालका लागि निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुलाई पूर्व मन्त्री महेश बस्नेत उपस्थित भई बधाई दिने तथा नेकपा एमालेले दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि निमन्त्रणा दिने क्रममा संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उपविजेता भएका राजेन्द्र कुमार शर्मा (आर.के.) को नेतृत्वमा बुद्धि सागर सुवेदी, गंगाधर गौतम, ठाकुर प्रसाद ढुङ्गाना लगायत व्यक्तिहरु संघको कार्यालयमा प्रवेश गरी पूर्व मन्त्री महेश बस्नेतलाई गाली गलौच गरी अनुमतिबिना फोटो खिच्ने; व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातिलाई होच्याई चरित्र हत्या गर्ने र संघको कार्यालयमा हुलदङ्गा गर्नेसम्मका गतिविधि भएका छन् । सो क्रममा संघको केन्द्रीय कार्यालयमा घटेको घटनाप्रति हामी दुखी छौँ । यस सम्बन्धमा हामीले नेपाल प्रहरी प्रशासनमा उजुरी गरी छानबिन र दोषी उपर कारबाहीको माग समेत गरेका छन् ।
लोकतान्त्रिक पद्धत्तिमा विजय र पराजय नियमित प्रक्रिया हो तर त्यसलाई स्वीकार्नुको सट्टा संघको २० वर्षको अस्तित्व नै धरापमा पार्ने खालका गतिविधि गर्ने र ८० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको शाख गिराउने कार्य गर्नु निन्दनीय छ । निर्वाचनमा धाँधली भयो भन्ने उपविजयी पक्षले गरेको दाबीलाई लिएर हामीले अन्तर्राष्ट्रिय स्तरको छानबिनका लागि पटक पटक आह्वान गर्दा पनि छानबिनका लागि तयार नहुने तर स्वघोषित कमिटी गठन गर्ने, अनावश्यक रुपमा आरोपप्रत्यारोपमा उत्रने लगायतका गतिविधि गर्नु पक्कै पनि उचित छैन ।
हरेक समस्याको समाधान संवादबाटै सम्भव हुने भएकोले हामी उपविजयी पक्षलाई छानबिनका लागि सहयोग गर्न र संघको सचिवालयका दैनिक कार्यमा कुनै पनि किसिमको बाधा अवरोध नपुर्याउन अनुरोध गर्दछौँ ।
अन्त्यमा, विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई पनि निर्वाचनको प्रारम्भिक नतिजा प्रकाशन गर्ने क्रममा देखा परेको प्राविधिक त्रुटि सम्बोधन भइसकेको र निर्वाचन गराएको कम्पनिबाट प्राप्त मतपरिणामको अन्तिम परिणाम, प्राविधिक त्रुटि सम्बन्धमा दिएको स्पष्टीकरण लगायतको प्रमाणहरुको आधारमा निर्वाचन समितिले विजयीको घोषणा गरिसकेकोले बाहिर आएका अफवाह र भ्रामक खबरको पछि नलाग्न र निर्वाचित पक्षलाई साथ, समर्थन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।