अमेरिकामा नेपाली पनि मनाए हालोविन पर्व

काठमाडौं। अमेरिकामा प्रत्येक वर्षको अक्टोबर ३१ तारिखमा मनाईने हालोविन पर्व हर्षोल्लासका साथ नेपाली समुदायले पनि मनाएका छन्। हालोविन इसाईहरूको एक चाड हो। इसाई धर्ममा प्रचलित यो चाड गर्मीलाई बिदाइ गर्न मनाउने गरिन्छ। हालोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङ)को छोटकरी रूप हो। विश्वका धेरै मुलुकहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा यो पर्व मनाइने गरिन्छ।

अमेरिकामा विभिन्न राज्यमा समय फरक भएको कारण यो पर्व मनाउने क्रम जारी रहेको छ। हालै महान् चाड बडा दसैँ मनाएका नेपाली समुदायले नजिकै आउँदै गरेको तिहार अगाडि हालोविन पर्वलाई स्वागत गर्दै अमेरिकामा जन्मेका दोस्रो पुस्ता तथा छोराछोरीको साथमा हालोविन पर्व मनाएका छन्।

आफ्नो चाड पर्व साथै अमेरिकामा मनाइने इसाई पर्व (क्रिसमस) थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस)सहित हालोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समुदायले मनाउन सुरु गरेका हुन् ।नेपालीहरूले तिहारमा देउसी भैलो खेलेझैँ अमेरिकाका बालबालिकाहरूले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भन्दै हालोविन पर्व मनाउने गर्छन् ।

यसरी विदेशीहरूले खेले झैँ नेपाली बालबालिका किशोर किशोरीहरुले समेत आफ्ना छर छिमेक र नजिक पर्ने ठाउँमा हालोविन पर्व हर्षोल्लासका साथ मनाएका छन् । विभिन्न भूतप्रेतको आकृतिमा विभिन्न रङ्गका पोसाकमा आएका बालबालिकाले आफूले ल्याएको झोलामा चकलेट माग्ने र घरधनीले विभिन्न प्रकारका चकलेट बाँडेर यो पर्व मनाइन्छ । हालोविन खेल्न आउनेलाई पैसा या दक्षिणा दिनु पर्दैन।

बालबालिका तथा किशोर किशोरीले चकलेट मात्र माग्ने गर्छन्। यसरी बालबालिका खेल्न जाँदा उनीहरूको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरूको साथमा अभिभावक पनि साथमा जाने चलन छ। घरबेटीले अन्य खाने कुराहरू दिनु पर्दैन।

नेपालको तिहारको समय र हालोविनको समय कहिलेकाही एक दुई दिनको फरकमा पर्न जान्छ। बालबालिकाले पहेँला,निला,काला,सेता वस्त्र, भूतप्रेत झैँ, होलिका, मुकुन्डो, नकाब, भोजमा लगाइने विशेष पोसाकमा घर,बजार तथा ठुला ठुला विशाल बजारमा गएर मिठाई मागी मनोरञ्जन गर्दछन्।