खेमलाल हरिकला लामिछाने प्रतिष्ठानको ‘पद्मश्री पुरस्कार’ सुवेदी, शर्मा र बराललाई

काठमाडौँ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने विभिन्न ३ विधाका पुरस्कारबाट ३ जना व्यत्तित्वहरु पुरस्कृत भएका छन्। प्रतिष्ठानको वि.सं.२०७९ को ‘पद्मश्री साहित्य पुरस्कार’ मनु उपन्यासका लागि समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई प्रदान गरिएको छ।

मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो। मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ।

यसैगरी शिक्षा क्षेत्रमा अतुलनीय योगदान दिएका शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्मालाई यस वर्षको ‘पद्मश्री गौरव सम्मान’ अर्पण गरिएको प्रतिष्ठानले जनाएको छ।

‘पद्मश्री साधना सम्मान’ बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल(वात्स्यायन)लाई अर्पण गरिएको छ। उनले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिएका छन्।

शनिबार आयोजित एक समारोहमा ३ श्रष्टाहरुलाई पुरस्कार अर्पण गरिएको प्रतिष्ठानले जनाएको छ ।