एनआरएनएको बैंक खाता रोक्का गर्न आरके शर्माको निवेदन

काठमाडौँ। गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष आरके (राजेन्द्रकुमार) शर्माले संघको नाममा रहेका सम्पुर्ण बैंक खाता रोक्का गर्न निवेदन दिएका छन् संघमा उत्पन्न विवादपछी अध्यक्ष घोषणा गरेर आधिकारिकताका लागि प्रयासरत शर्माले हाल विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन्।

शर्मा समुहका महासचिव बुद्धि सुवेदीका अनुसार ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत ती बैंकहरुमा पत्राचार भएको छ भने यसबारे परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकारी अधिकृत(सीईओ)राजेन्द्र कुमार राउतलाई पनि जानकारी गराइएको छ।

सुवेदीले भने,‘बैंकहरुलाई पत्राचारका साथै आइतबार सीईओलाई पनि तत्काल खाता सञ्चालन नगर्न भनेर हामीले मौखिक रुपमा समेत भनेका छौँ।’

आइतबार अध्यक्ष शर्मासहितका पदाधिकारीहरु नियमित कार्यसञ्चालनका लागि बालुवाटारस्थित संघको कार्यालय पुगेपनि अध्यक्षको कार्यकक्षको ताला अर्का अध्यक्ष डा.बद्री केसीसँग भएपछी शर्माले प्रवेश नै पाएनन्। त्यसपछि उनले एनआरएनएको १८ वटै बैंक खातामा विश्वभरका नेपालीहरुको सम्पत्ति रहेकाले कुनै अमुक र स्वघोषित अध्यक्षको निर्देशनमा संचालन गरिनु अवैध हुने भएकाले तत्काललाई रोक्का गरिएको बताएका छन्।

उता, शर्माले आधिकारिकताको दाबी गर्दै शुक्रबार नै परराष्ट्र मन्त्रालयमा पनि निवेदन दिएका थिए। त्यसलगत्तै आइतबार शर्माले पुनः परराष्ट्रमा पुगेर आधिकारिकताका लागि आवश्यक डकुमेन्टहरु पनि पेस गरेका छन्। गत अक्टोबर १९ मा अनलाइएनमार्फत भएको निर्वाचनमा विवाद उत्पन्न भएपछी एनआरएनएमा पुनःह विभाजन आएको हो।