परराष्ट्रमन्त्री साउद आज अमेरिका जाँदै, यस्तो छ भ्रमण तालिका…

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद आज (आइतबार)अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले भोली सोमबार वासिंटनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ।

मन्त्री साउदले अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)की प्रशासक सामन्था पावर र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।

यस्तै, उहाँले अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारी र अमेरिकी संसद्को नेपाल ककसका उपाध्यक्ष एवं सांसद माइक केरीसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी शान्ति संस्थान(यूएसआईपी)मा भेटवार्ता गर्ने,नेपाली–अमेरिकी व्यवसायी समुदायसँग अन्तरक्रिया गर्ने, सूचना प्रविधि क्षेत्रका विज्ञसँग भेटघाट गर्नुकासाथै गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने बताइएको छ।

परराष्ट्रमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री,परराष्ट्र मन्त्रालय र वासिंटन डीसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारी,एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।